खेलकुद

आयोजक विराट गोल्डकपको फाइनलमा

By admin

March 27, 2023

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा सोमबार राति भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २-१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो ।

 

जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरे । जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्त्वना गोल फर्काए । विराटनगरले संघर्षपूर्ण जीत हासिल गरेको हो ।

 

प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए । दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दबाब परेको थियो ।

 

५९औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए । बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल फालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

 

८७औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । ६१औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए ।

 

लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिँदा सेमिफाइनलबाट घर फर्किन बाध्य बन्यो ।

 

९औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्सभित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिश देउलाले उत्कृष्ट बचाए । १७औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुकेका थिए । उनले डिबक्सभित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर विशाल श्रेष्ठले विफल पारिदिएका थिए ।

 

त्यसलगत्तै एनकोटोले निकालको क्रस पासलाई हिसुबले पेनाल्टी एरियााबाट गरेको प्रहार गोलकिपरले पन्च गरेर मैदानतिर पठाइदिए । २७औ मिनेटमा बिमलले निकालको क्रस पास डिबक्स भित्रबाट विदेशी खेलाडी मोसकले गोल गर्नबाट चुके ।

 

५३औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए । ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।

 

खेलको अत्यतिर ८९औं मिनेटमा जावलाखेलका कप्तान सिमन्त थापाको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर फाले । त्यसलगैत सुनिल खड्काले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगरका गोलरक्षक विशाल श्रेष्ठले बिफल पारिदिए । खेलको अत्यतिर जावलाखेल समाल्नि नसक्दा थप गोल खाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए ।

 

म्यान अफ म्याच विराटनगर सिटीका स्टेफन ब्याङगनल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । जितपछि विराटनगरका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुको मेहनतको कारणले जित हासिल गरेको बताए । पहिलो हाफसम्म खेलाडीहरुले पाएको सुन्दर अवसर खेर फाल्दा जित निकाल्न दोस्रो हाफ कुर्नुपरेको बताए । उता जावलाखेलको प्रशिक्षक सुनिल कुमार श्रेष्ठले पाएको अवसर खेर फाल्दा हार भएको बताए ।

 

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ ।