खेलकुद

मनाङ खप्तड गोल्डकपको फाइनलमा

By admin

March 29, 2023

धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा क्यामरुनी क्लब एभिनरलाई ६-० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

 

७ खेलाडीमा समेटिएको एभिनरविरुद्ध मनाङलाई जित दिलाउन सेदजामोल दाभ्लातजोनोभले ह्याट्रिक गोल गरे । यस्तै, जीवन गुरुङ, प्रशन्न श्रेष्ठ र अनिल गुरुङले एक-एक गोल गरे ।

 

खेलाडीको कागजी प्रक्रिया नपुगेपछि ९ खेलाडीसहित क्यामरुनी क्लब मैदान उत्रिएको थियो । त्यसपछि जोर्डन जुनियर र गोलकिपर नापोलिन यानले रातो कार्ड पाएपछि क्यामरुनी टोली ७ खेलाडीमा समेटिएको थियो ।

 

अब मनाङले उपाधिका लागि सुदूरपश्चिम-११ र थ्री स्टारबीचको विजेतासँग खेल्नेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।