खेलकुद

अर्जुनधारामा अन्तरपालिका कराते प्रतियोगिता हुने

By admin

March 30, 2023

शनिश्चरे । झापाको अर्जुनधारामा अन्तरपालिका कराते प्रतियोगिता हुने भएको छ । नयाँ वर्षको अवसर पारेर अर्जुनधारा १ मा रहेको भिमले कराते डोजोको आयोजनामा २ दिने कराते प्रतियोगिता हुने भएको हो ।

 

आयोजकका संयोजक महेन्द्र बरालका अनुसार आउँदो वैशाख ८ र ९ गते अर्जुनधारा १ स्थित हलुवागढ पर्यापर्यटन क्षेत्र परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा ७ पालिकाका ८ टिमले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

जसमा आयोजक भिमले कराते डोजो र अर्जुनधारा नगरको २ टिमले पनि प्रतिस्पर्धा गर्नेछन् भने बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कनकाई नगरपालिका तथा बुद्धशान्ति र हल्दिबारी गाउँपालिकाले पनि सहभागिता जनाउने भएको छ ।

 

२ दिने प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख ८५ हजारभन्दा बढी खर्च लाग्ने बताइएको छ । ८ वटा टिमबाट कम्तिमा १५० जना महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिए । प्रतियोगितामा २५ जना निर्णायक रहने बताइएको छ ।

 

उनका अनुसार महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहबीच प्रतिस्पर्धा हुनेछ भने पुरुषतर्फ २०, २५, ३०, ३५, ४२, ५२, ५७ र ६२ केजी तौल समूहका खेलाडी सहभागी हुनेछन् ।

 

प्रतियोगितामा पहिलोपटक डिजिटल स्कोर बोर्ड प्रयोग गरिनुका साथै खेलाडीबीचको प्रतिस्पर्धाका लागि टाइसिट पनि एप्समार्फत गरिने एसियन कराते फेडेरेशन रेफ्री तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीले जानकारी दिए ।

 

महिला प्रशिक्षक रहेको भिमले कराते डोजोको बारेमा जानकारी गराउने तथा अर्जुनधारा १ मा रहेको हलुवागढ पर्यापर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पनि प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो ।

 

प्रतियोगिता अवधिभर खेलाडीलाई पर्यापर्यटन क्षेत्रमा प्रवशे निशूल्क गरिने हलुवागढ सामुदायिक वनका अध्यक्ष देउनारायण राईले जानकारी दिए । हलुवागढ पर्यापर्यटन क्षेत्र अर्जुनधारा नगरपालिकाको पर्यटकीय क्षेत्रमध्ये एक हो ।

 

आयोजक भिमले कराते डोजोकी प्रशिक्षक मथुरादेवी तामाङ सारु मगरका अनुसार अहिले डोजामो २५ जनादेखि ६० जना प्रशिक्षार्थीले नियमित प्रशिक्षण लिइरहेका छन् । डोजो २०७३ सालमा स्थापना भएको हो ।

 

कार्यक्रममा अर्जुनधारा १ का जनप्रतिनिधि मदन लिमेल मगरलगायतले आफ्ना धारणा राखेका थिए भने जनप्रतिनिधि दिनेश घिमिरे, कराते प्रशिक्षक जीवन राई, हेमलाल परियार, खेलप्रेमी तथा युवा व्यवसायी विजय सेन्दाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतियोगिताका आर्थिक संयोजक तिवेन्द्र काफ्लेले सञ्चालन गरेका थिए ।