खेलकुद

थ्रीस्टार खप्तड गोल्डकपको फाइनलमा

By admin

March 30, 2023

धनगढी । आयोजक टिम सुदूरपश्चिम ११ लाई हराउँदै थ्रीस्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।

 

थ्रीस्टारले उपाधिका लागि शनिबार मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ । खेलको ३०औं मिनेटमा पहेलो कार्ड पाएका थ्रीस्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्रीस्टार क्लव १० खेलाडीमा सीमित भए पनि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

 

विक्रम लामाले ८३औं मिनेटमा हेडरबाट गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा आयोजक टिमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए ।

 

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम ११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्रीस्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए । थ्रीस्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो ।

 

सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो । खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्रीस्टारका कप्तान विक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

 

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लबलाई हराउँर्दै मनाङ मस्र्याङ्दी क्लब प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ । मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।