खेलकुद

विराट गोल्डकपमा कुन खेलाडीले के पाए ? (तस्वीरसहित)

By admin

March 31, 2023

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि घरेलु टोली विराटनगर सिटी एफसीले जित्दा विधागत पुरस्कारतर्फ विराटनगरका सुरज विके म्यान अफ दी म्याच बन्दै नगद ११ हजार प्राप्त गरे ।

 

फाइनलमा भारतीय क्लब लुका सकरलाई ४-० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको थियो । घरेलु टोली विराटनगरले ६१ वर्षपछि दोस्रोे पटक गोल्डकपको उपाधि हात पारेको हो ।

 

अन्य विधागततर्फ फेयर प्ले अफ द टुर्नामेन्टको उपाधि जावलाखेल युथ क्लबले नगद २५ हजार प्राप्त गरेको छ । यसैगरी सर्वाधिक गोलकर्ताको अवार्ड विराटनगरका अभिषेक गुरुङले हात पारे । हरेक खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अभिषेकले गोल पनि गर्दै आएका थिए । फाइनलमा पनि उनले टिमका लागि चौथो गोल गरेका थिए ।

 

यसैगरी उत्कृष्ट फरवार्डको उपाधि भने लुका सकर भारतका चल्सले हात पारे । उत्कृष्ट डिफेन्डरमा देवेन्द्र तामाङ रहे भने उत्कृष्ट मिडफिल्डरको रुपमा विराटनगरका युता सुजुकी रहे । उत्कृष्ट गोलकिपरको रुपमा विराटनगरका विशाल श्रेष्ठ रहँदा उत्कृष्ट प्रशिक्षकको उपाधि भने विराटनगरकै सन्तोष न्यौपानेले हात पारे ।

 

 

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी भने विराटनगरका मेसुके ओलाउमो रहे । विधागततर्फ उत्कृष्ट भएकालाई नगद जनही २५ हजार रुपैया र मुख्य प्रायोजक काब्रा ग्रुपबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट प्रशिक्षक र गोलरक्षकको नगद २५ हजार पुरस्कार भने नेपाली क्रिकेट टिमका पूर्व खेलाडी तथा व्यवसायी पारस लुनियाले प्रायोजन गरेका थिए ।

 

 

उपाधि जितेको घरेलु टोली विराटनगर सिटी एफसीले २० लाख १५ हजार र उपबिजेता बनेको लुका सकरले १० लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपाधि विजेता टोली तथा खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।