बिर्तामोड । झापामा एसइई परीक्षाको पहिलो दिन १४५ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ १०४ र ग्रेडबृद्धितर्फ ४१ जना परीक्षार्थी परीक्षामा अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।
शिक्षा विकासका फोकल पर्सन ओम राईका अनुसार एसइईका लागि झापामा १५ हजार ८५८ जना परीक्षार्थीले फारम भरेका थिए । त्यस्तै जिल्लामा तीन जना दृष्टिविहीन परीक्षार्थीहरू एसइई परीक्षामा सहभागी भएका छन् ।
दुर्गा माध्यमिक विद्यालय गरामनी परीक्षा केन्द्रमा दुई र सरस्वती माध्यमिक विद्यालय दमक ९ स्थित इँटाभट्टा परीक्षा केन्द्रमा एक जना दृष्टिविहीन परीक्षार्थी परीक्षामा सहभागी भएका हुन् । दुर्गा मावि परीक्षा केन्द्रमा दृष्टिविहीनहरू सन्दीप लिम्बू र समीर विकले लेखन सहयोगीको सहयोगमा परीक्षा दिएका छन् ।
लिम्बूको लेखन सहयोगी कक्षा ९ का शिशिर मिश्र र विकको सहयोगी कक्षा ९ कै फरिदा खातुन रहेको सहायक केन्द्राध्यक्ष उमानाथ भण्डारीले बताए । त्यस्तै सरस्वती मावि परीक्षा केन्द्रमा दृष्टिविहीन निर्मला कार्की एसइई परीक्षामा सहभागी भएकी छन् । उनको लेखन सहयोगी कक्षा ९ का आवास ढकाल रहेको केन्द्राध्यक्ष नरबहादुर थापाले बताए ।