अर्थ बजार

बस्तुगत उपाध्यक्षमा झापाका हेमराज ढकाललाई संघसंस्थाको समर्थन

By admin

April 02, 2023

बिर्तामोड । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगततर्फको उपाध्यक्ष पदमा हेमराज ढकाललाई झापाका दर्जनौ बस्तुगत संघसंस्थाले सिफारिससहित समर्थन गरेका छन् ।

 

नेपाल चिया उत्पादक संघका पूर्व सचिव तथा हालका सदस्यसमेत रहेका ढकाललाई महासंघको चैत २८ र २९ गते काठमाडौैमा हुन लागेको ५७औं वार्षिक साधारणसभा तथा निर्वाचनमा बस्तुगततर्फबाट उपाध्यक्षमा झापाका बस्तुगत संघसंस्थाले सिफारिस गरेका हुन् ।

 

नेपाल चिया उत्पादक संघले आइतबार (आज) बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा दर्जनौ बस्तुगत संघसंस्थाले ढकालको उम्मेद्वारीलाई समर्थन गरेका हुन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका ढकाललाई महासंघको उपाध्यक्ष (वस्तुगततर्फ) पदमा उम्मेद्वारीका लागि नेपाल चिया उत्पादक संघको कार्य समितिको पूर्ण बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

 

करिब ३ दशकदेखि उद्योग–वाणिज्य एवम् विदेशी मुद्रा आर्जन गर्ने चिया, अलैंची, अदुवा, सुपारी, भेनियर, प्लाईउड, कुचो, रबरजस्ता कृषिजन्य वस्तुको आन्तरिक तथा निर्यात व्यापार प्रवद्र्धन, संरक्षण तथा यसमा आवद्ध किसान, व्यवसायी, निर्यातकर्ताहरुको समस्या समाधानमा पहल र पैरवी गर्दै आएका ढकाललाई महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उभ्याइरहँदा यो प्रस्ताव संघको मात्र नभई झापालगायत पूर्वी क्षेत्रमा स्थापना भएका बस्तुगत संघसंस्थालाई मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन झापाका बस्तुगत संघसंस्थाले सबै मतदातामा आग्रह समेत गरेका छन् ।

 

उद्योगी-व्यवसायी र किसानको पक्षमा उभिँदै साहसी तथा निडर नेतृत्वको छाप छोड्न सफल भएको भन्दै ढकालको विजयले समग्र कृषि क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्ने कुरामा कुनै शंका नरहेको बताइएको छ ।

 

महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष टीकाराज ढकाल, महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, तारानाथ घिमिरे, नेपाल अलैँची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल सुपारी महासंघ अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल भेनियर महासंघ अध्यक्ष दीपक पाण्डे, नेपाल अदुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी, नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष मदन मित्तललगायतले ढकाललाई समर्थन गर्दै जिताउन प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।