अर्थ बजार

बिर्तामोडमा डेढसय हेक्टर मकैबालीमा क्षति

By admin

April 06, 2023

बिर्तामोड । गएको शुक्रबार साँझ हावाहुरीसहित आएको असिनापानीबाट बिर्तामोडमा मात्र डेढ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली क्षति भएको छ । असिनापानीले बिर्तामोडको वडा नं २ र १० मा बढी क्षति पुर्याएको हो ।

 

बिर्तामोड २ मा करिब ११० विगाह, वडा नं १० मा १३० विगाह, वडा नं ९ मा ४० विगाह र वडा नं ८ मा करिब २० विगाहमा लगाइएको मकैबालीमा पूर्ण क्षति पुगेको बिर्तामोड नगरपालिकाको कृषि शाखाले जनाएको छ । बिर्तामोडका चारवटा वडामा भएका क्षतिको अनुमानित तथ्यांक निकालिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए ।

 

उनले राहतका लागि क्षतिको यकिन तथ्यांक निकाल्न सर्भे भइरहेको जानकारी दिए । उनले करिब २० विगाह तरकारी खेतीमा पनि क्षति पुगेको बताए । कृषि ज्ञान केन्द्र झापाले पनि बिर्तामोडमा डेढ सय हेक्टर मकैबालीमा क्षति पुगेको जनाएको छ ।

 

शुक्रबार साँझ आएको असिनापानीबाट झापामा सबैभन्दा बढी कन्काई नगरपालिकामा क्षति पुगेको छ । असिनापानीले कन्काई नगरपालिकामा २२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा क्षति पुर्याएको छ । क्षति पुगेको कुल क्षेत्रफलमध्ये आधाजतिमा बालीनाली रहेको छ ।

 

कन्काईमा करिब ११४३ हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीले बताए । त्यसपछि बिर्तामोड नगरपालिकामा क्षति पुगेको हो । बिर्तामोडपछि हल्दिबारी २ र भद्रपुरको बजार क्षेत्रमा असिना परेको थियो ।

 

हल्दिबारी २ मा बालीनालीमा क्षति पुगे पनि भद्रपुरमा बजार क्षेत्र भएकाले क्षति नपुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । असिनापानीले पुर्याएको क्षतिको तथ्यांक निकाल्न ती पालिकामा सर्भे भइरहेको छ ।

 

करिब डेढ वर्षअघि २०७८ को कात्तिकमा आएको हावाहुरीबाट धानबालीमा भएको क्षतिको क्षतिपूर्ति किसानहरुले अझैसम्म पाएका छैनन् । त्यसबेला बिर्तामोड नगरपालिकाका २ हजार ९१५ किसानको २ करोड ४७ लाख ३० हजार मूल्य बराबरको क्षति भएको विवरण राहतका लागि पठाइएको थियो । त्यस्तै कृषि ज्ञान केन्द्रले जिल्लाभरिका किसानको ३७ करोड ६४ लाखको क्षतिपूर्ति विवरण पठाएको कार्यालय प्रमुख विष्टले बताए ।