समाज

झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ

By admin

April 08, 2023

बिर्तामोड । झापामा एकैदिन तीनजना फरार प्रतिवादी पक्राउ परेका छन् । सवारी ज्यान, जबरजस्ती करणी र ठगी मुद्दामा फरार रही पक्राउ परेका तीनैजना दमकका रहेका छन् ।

 

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा फरार दमक नगरपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय पवन लिम्बू पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०७५ असार ५ गते भएको फैसलाअनुसार सवारी ज्यान मुद्दामा लिम्बूलाई १ वर्ष ११ महिना ४ दिन कैद सजाय तोकिएको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

 

त्यस्तै जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय नगेन राई पनि बिहीबार नै पक्राउ परेका छन् । उनी १२ वर्षपछि पक्राउ परेका हुन् ।

 

झापा जिल्ला अदालतको मिति २०६७ फागुन १७ गते भएको फैसलाअनुसार जबरजस्ती करणी मुद्दामा राईलाई ११ वर्ष जेल सजाय तोकिएको थियो । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

 

त्यस्तै, ठगी मुद्दामा फरार रहेका दमक नगरपालिका वडा नम्बर ८ बस्ने ४१ वर्षीय बेदप्रसाद सेडाई पनि पक्राउ परेका छन् । उनी १० वर्षपछि पक्राउ परेका हुन् । झापा जिल्ला अदालतको मिति २०६९ चैत २० गते भएको फैसलाअनुसार ठगी मुद्दामा सेडाईलाई ५ दिन कैद र १ हजार जरिवाना तोकिएको थियो ।

 

फरार रहेका तीनैजनालाई पक्राउ गरी शुक्रबार अदालतको आदेशले जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।