खेलकुद

बिर्तामोडलाई रोक्दै बुट्टाबारी सन्दकपुर गोल्डकपको फाइनलमा

By admin

April 12, 2023

इलाम । बिर्तामोड युनाइटेडलाई हराउँदै बुट्टाबारी युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा बुट्टाबारी सडनडेथमा भाग्यमानी बनेको हो ।

 

सडनडेथ प्रहारमा ३-२ गोल अन्तरले विजयी बन्दै बुट्टाबारी फाइनलमा प्रवेश गर्ने दोस्रो टोली हो । मंगलबारको पहिलो सेमिफाइनल खेलबाट दमकलाई रोक्दै फिक्कलले आफ्नो दाबेदारी प्रस्तुत गरिसकेको छ । आज भएको खेलको निर्धारित समयको खेलमा दुवै टोलीबाट १-१ गोल भएको थियो । खेलको सुरुवाती अग्रता बुट्टाबारीले बनाएको थियो ।

 

खेलको ५९औँ मिनेटमा प्रदिप बुढाथोकीले सुरुवाती गोल गरेका थिए । तर, ६४औँ मिनेटमा विशाल तामाङले पेनाल्टीमार्फत खेललाई बराबरीमा ल्याए । त्यसपछिको खेलमा दुवै टोलीबाट गोल नभएपछि निर्णयको लागि पेनाल्टी सुटआउट रोजिएको थियो ।

 

बुट्टाबारीका निरोज कार्की, प्रदिप बुढाथोकी र विकास थुलुङले गोल गरे । बिशाल दर्जी, दुर्लभ तिवारी र रोमन भुजेलको प्रहार गोलरक्षक रोशन गुरुङले बचाएका थिए । बिर्तामोडका विशाल तामाङ र निशान लामाले मात्र गोल गरे ।

 

कप्तान विक्रम तामाङ र रिजन गुरुङको प्रहार फ्रेममा पर्न सकेन । दिनेश मुर्मु र सूर्य टुडुको प्रहार गोलरक्षक युवराज पुरीले बचाएका थिए । खेलको म्यान अफ दि म्याच बिजेता टिमका गोलरक्षक युवराज पुरी घोषित भए ।

 

फाइनल प्रवेशसंगै बुट्टाबारीले फिक्कल युनाइटेडसँग वैशाख १ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।