खेलकुद

फिक्कललाई सन्दकपुर गोल्डकपको उपाधि

By admin

April 14, 2023

इलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका ३ स्थित सातखाल्डे खेलमैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा बुट्टाबारी युनाइटेड झापालाई पराजित गर्दै फिक्कलले उपाधि रक्षा गरेको हो ।

 

बुट्टाबारी युनाइटेडलाई ३-२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो । खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२औ मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३औ मिनेटमा शौरभ कार्कीले फिक्कलका लागि हेडरमार्फत अग्रता दोब्बर बनाएका थिए ।

 

खेलको ५२औ मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । तर, ५८औँ मिनेटमा फिक्कलका शेखर राईले खेल ३-१ गोलको अन्तर बनाए । ६६औँ मिनेटमा रोमनले पेनाल्टीमार्फत गोल थपे पनि बुट्टाबारीका लागि उपाधि जित्न पर्याप्त भएन ।

 

जितसँगै विजेता बनेको फिक्कलले १ लाख ५१ हजार र आकर्षक ट्रफी पाएको छ भने उपविजेता झापाको बुट्टाबारीले ८१ हजार र ट्रफीमा चित्त बुझायो ।

 

प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बू घोषित भए । उनीहरुले जनही ४ हजार प्राप्त गरे । प्रतियोगिताको उदीयमान खेलाडी देउराली स्पोर्टिङ क्लबका निशान राई घोषित भए । देउराली स्पोर्टिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो ।

 

क्लबका अध्यक्ष अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुलाबहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे ।