अर्थ बजार

बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित चार जनालाई सम्मान

By admin

May 05, 2023

बिर्तामोड । हालै सम्पन्न नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित चार जनालाई झापाको बिर्तामोडमा शुक्रबार सम्मान गरिएको छ । नेपाल अलैँची ब्यवसायी महासंघ केन्द्रीय समिति बिर्तामोड झापाको नेतृत्वमा उनीहरुलाई सम्मान गरिएको हो ।

 

अलैँची ब्यवसायी महासंघको आयोजनामा नेपाल भेनियर उत्पादक संघ, नेपाल कुचो संघ र नेपाल सुपारी उत्पादक तथा निर्यात ब्यवसायी संघले बिर्तामोडमा उनीहरुलाई संयुक्तरुपमा सम्मान गरेका हुन् ।

 

महासंघको जिल्ला तथा नगर उद्योगमा झापाका उमेश डालमिया र पाँचथरका दीपक नेपाल, बस्तुगततर्फ इलामका राजकुमार कार्की र संस्थापकतर्फ झापाका नरेन्द्रकुमार खड्का निर्वाचित भएका थिए । जसमध्ये नेपाल, काकीृ र खड्का अलैँची व्यवसायी महासंघमा आवद्ध पदाधिकारी हुन् ।

 

सोही कार्यक्रममा नेपाल निर्यात ब्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित भएका अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईलाई पनि नेपाल कुचो संघले सम्मान समेत गरेको थियो ।

 

अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा औचित्यमाथि नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दीपक पाण्डे र स्वागत अलैँची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले गरेका थिए ।

 

अलैँची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, नेपाल सुपारी निर्यात तथा ब्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नवनिर्वाचित केन्द्रीय सदस्य उमेश डालमियालगायतले आफ्नो भनाइ राखेको कार्यक्रमको सञ्चालन अलैँची व्यवसायी महासंघका महासचिव नारायण चिमरियाले गरेका थिए ।