खेलकुद

खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव वाग्ले बर्खास्त

By admin

May 17, 2023

सुनसरी । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

 

गत वैशाख १४ देखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको भन्दै वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो । चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधबारको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।

 

सदस्यसचिव वाग्लेलाई प्रदेश सरकारले हटाउने तयारीमै यसअघि दुई पटक स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतले जनाएको छ । वाग्लेको बर्खास्तीसँगै एक दर्जन प्रतियोगिता अनिश्चित बनेका छन् । यसै आर्थिक वर्षको जेठ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेसँगै झण्डै २ करोड रुपैयाँ बजेट फ्रिज हुने जोखिम बढेको छ ।

 

बर्खास्तीको विरुद्ध वाग्लेले अदालत जाने तयारी गरेका छन् । अदालती प्रक्रियामै दुई साताभन्दा बढी समय बित्ने र निर्धारित मितिमा प्रतियोगिता हुन नसक्ने जोखिमले बजेट फ्रिज हुने अवस्था आउन सक्ने छ ।

 

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको खेलकुद विकास बोर्डको गत चैत १६ गते बसेको बोर्ड बैठकले कोशी प्रदेशका जिल्लामा विभिन्न खेलकुदका प्रतियोगिता आयोजना गर्ने र प्रतियोगिताका लागि २ करोड बजेट छुट्याएको थियो ।

 

प्रदेश सरकारले बोर्डको बैंक खाता रोक्का गर्दै सदस्य सचिव वाग्लेलाई हटाएपछि जेठ मसान्तभित्र गरिसक्नुपर्ने उक्त प्रतियोगिताहरु अनिश्चित बनेका हुन् । इकान्तिपुरबाट