बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा नजिकिँदै गर्दा बिटिएम मन्त्र थकालीले आफ्ना खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बिटिएम मन्त्र थकालीले खेलाडीको नामावली सार्वजनिक गरेको हो । बिटिएम मन्त्र थकालीबाट पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमले खेल्ने भएका छन् । आलमले प्रतियोगितामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आलमले बिटिएम मन्त्र थकाली टिमको प्रतिनिधित्व गर्ने टिम कप्तान सुरज खड्काले जानकारी दिए ।
बिटिएम मन्त्र थकालीले अन्य खेलाडीमा आलमसहित कप्तान खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल मैदान उत्रिने छन् । टिम म्यानेजरमा रुपेश मादेन लिम्बू रहेका छन् ।
यसैबीच, बिटिएम मन्त्र थकालीले आलमको जर्सी पनि सार्वजनिक गरेको छ । आलमले ११ नम्बरको जर्सी लगाएर कर्पोरेट सुपर सिक्स क्रिकेट खेल्नेछन् । सार्वजनिक गरिँदा बिर्तामाेड ४ का वडाध्यक्ष राहुल शर्मा, समाजसेवी तथा खेलप्रेमी प्रकाश लिङदेनलगायतकाे उपस्थिति रहेकाे थियाे ।
झापाको बिर्तामोडमा यही जेठ ६ गतेदेखि प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदैछ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा २० वटा टिमले भाग लिने जनाइएको छ । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुने छन् । मन्त्र थकालीलाई सेभेन हर्सेस क्यासिनो, कोसेली अ गिफ्ट गाइड, बिर्तामोड स्नुकर, केयर फार्मेसी र आमेगा साउन्डले प्रायोजन गर्ने बताइएको छ ।
प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै, खेलको म्यान अफ द टुर्नामेन्टलाई १० हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ५ हजार १०० रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १०० रुपैयाँ पाउने छन् । प्रतियोगिताको फाइनल खेल रात्रिकालीन हुनेछ ।