झापा । १३औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रियस्तरको ट्रिपल जम्प प्रतियोगितामा च्याम्पियन बनेका अर्जुनधाराका राजिप ढुंगानालाई शनिश्चरे माविले नगदसहित सम्मान गरेको छ ।
गत वैशाख तेस्रो साता काठमाण्डौंमा सम्पन्न भएको १३औं राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकुद प्रतियोगिता २०७९ को ट्रिपल जम्प खेलमा कक्षा १२ मा अध्ययनरत ढुंगानाले ट्रिपल जम्पतर्फ स्वर्ण पदक जितेका थिए ।
झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयले सोमबार स्वर्ण पदक विजेता खेलाडी एवम् विद्यार्थी ढुंगानाको सम्मानमा एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेको हो । नगरस्तरीय प्रतियोगिताहुँदै जिल्ला र प्रदेशमा पनि उनी च्याम्पियन भएका थिए ।
राष्ट्रिय प्रतियोगितामा छनौट भइ स्वर्ण पदक जितेर खेलकुदको माध्यमबाट आफ्नो र विद्यालयको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको हुँदा विद्यालयले सम्मान कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक चेतामणि खनालले बताए । च्याम्पियन ढुंगानाले जिल्लास्तरमा १२.५५, प्रदेशस्तरमा १२.८५ र राष्ट्रियस्तरमा १३.५८ मिटर जम्प गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा उनलाई सम्मान पत्रसहित नगद पुरस्कार १५ हजार पाँच रुपैयाँ प्रदान गर्दै सम्मान गरेको हो ।
प्रधानाध्यापक खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्वको सम्मान पत्र शिक्षक वसन्त भट्टराईले वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन अर्का शिक्षक रुद्रप्रसाद खतिवडाले गरेका थिए । सम्मानित व्यक्तित्वलाई अर्जुनधारा नगरपालिकाको विभिन्न स्थानमा नगर परिक्रमा गराइएको थियो ।
नगरपालिका पुगेकाे र्यालीमा स्वर्ण पदकधारी ढुंगानालाई नगर प्रमुख बलदेवसिं गाेम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, वडाध्यक्षलगायतले बधाइ ज्ञापन गरेका थिए ।