अर्थ बजार

सवा सात अर्बको अलैंची निर्यात, हालसम्मकै उच्च

By admin

May 25, 2023

झापा । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ७ अर्ब २८ करोड १४ लाख रुपैयाँ बराबरको अलैंची निर्यात भएको छ । यो १० महिनामा ८९ लाख २१ हजार ६ सय ७९ किलो अलैंची निर्यात भएको हो, जुन हालसम्मकै उच्च हो ।

 

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई अहिलेसम्मकै उच्च निर्यात रहेको उल्लेख गर्दै भन्छन्, ‘१० महिनामै ७ अर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ, अझै २ महिना बाँकी छ । यो वर्ष ८ अर्बको हाराहारीमा निर्यात हुन सक्छ ।’ यसअघि आव ०७७/७८ मा पनि ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको अलैंची निर्यात भएको थियो ।

 

गत आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ बराबरको ५३ लाख ६७ हजार ४ सय ४३ किलो अलैंची निर्यात भएको विभागको तथ्यांक छ । अलैंची निर्यात बढे पनि किसानले पाउने मूल्य भने क्रमशः घट्दै गएको छ ।

 

यसवर्ष अलैंची उत्पादन बढे पनि समयसापेक्ष बजार र मूल्य नपाएको ताप्लेजुङका बाल्मणी बराल बताउँछन् । पहिलाको तुलनामा किसानले पाउने मूल्य न्यून भएको उनले सुनाए । ‘कुनै बेला ताप्लेजुङमा मात्रै अलैंची बेचेर ६ अर्ब रुपैयाँ भित्रिन्थ्यो । अहिले देशभरमा त्यति भित्रिन्छ । कहिलेकाहीँ त्यही पनि आउँदैन,’ उनले भने ।

 

प्रतिमन (४० किलो) १ लाख रुपैयाँभन्दा बढीमा समेत बेचेको अलैंची यस वर्ष मुस्किलले २४ हजारदेखि सुरु भई ३४ हजारसम्म पुगेको उनको दाबी छ । ताप्लेजुङमा मात्रै यस वर्ष २८ हजारदेखि ३० हजार टन अलैंची उत्पादन भएको महासंघका पूर्वसदस्यसमेत रहेका बरालले जनाए । गत वर्ष २४ सयदेखि २५ सय टन उत्पादन भएको थियो । तर आगामी वर्ष उत्पादन घट्ने उनको अनुमान छ ।

 

‘मौसम राम्रो भयो, अलैंचीको बोट सुक्न पाएन । त्यसकारण उत्पादन बढ्यो । तर, अलैंचीमा रोग लागेको हुँदा आउने वर्ष उत्पादन घट्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।