शनिश्चरे । झापाको अर्जुनधारामा आयोजित वडास्तरीय यु-१८फुटबल प्रतियोगितामा आयोजक हात्ती किल्ला एफसी फाइनलमा प्रवेश गरेको छ । चन्द्रोदय आधारभूत विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टाइब्रेकरबाट हात्ती किल्लाले बाजी मारेको हो ।
स्पर्धी बुद्धशान्तिको नवज्योति युवा क्लबलाई ४-३ गोलअन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।
आयोजकका लागि निश्चल भण्डारी, दिपेश धिमाल, प्रशान्त दाहाल, बादल आचार्यको प्रहार गोलमा परिणत भएको थियो । इश्वर मेचेको प्रहार भने जयपुरका गोलरक्षकले रोकेका थिए ।
खेलको म्यान अफ दी म्याच आयोजकका विशाल निरौला भए । उनले नगद १ हजार ५ सय र ट्रफी पाए । भोलि अन्तिम सेमिफाइनल खेल शनिश्चरे एफसी र बुद्धशान्तिको न्यू स्टार बुद्धशान्तिबीच खेल हुने आयोजकका उपाध्यक्ष हिमाल पुरीले जानकारी दिए ।
हात्तीकिल्ला एफसीको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद १५ हजार पाउने छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय र उत्कृष्ट रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ता बन्ने खेलाडीले जनही नगद १ हजार ५ सय पाउने आयोजकले जनाएको छ ।