झापा । इलामको माई नगरपालिका ८ भएर झापाको शिवसताक्षी नगरपालिकातर्फ झर्ने सतासी झरनाको दहमा डुबेर झापा कमल गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।
साथीसंग घुम्न गएका कमल गाउँपालिका ५ पाडाजुँगीका २१ वर्षीय निश्चल भण्डारीको दिउँसो १२ः१० बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा माथिबाट डाइभ हानेका भण्डारीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
धामबाट करिब १ किलोमिटरको दूरीमा रहेको इलामको माई नगरपालिकास्थित माथिल्लो झरनामा भण्डारी पौडी खेल्न दहमा पसेका थिए । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली खटेको थियो ।
झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरेर शव पानीबाट निकालिएको थियाे । पोस्टमार्टमको लागि दमक हस्पिटल पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।