शनिश्चरे । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्री ब्यवस्थित तवरले मात्र ढुवानी गर्न दिने भएको छ । सडकमा असुरक्षा बढेको भन्दै नगरले नदीजन्य सामग्री ढुवानीमा कढाई गर्ने भएको हो ।
ब्यवसायीले अब नदीजन्य सामग्री नगरका सडकबाट पानी चुहाउँदै ढुवानी गर्न पाउने छैनन् । यसअघि ब्यवसायीले त्यो प्रावधान पालना गर्नु परेको थिएन । खासगरी ट्याक्टर र टिपरले नदीजन्य सामग्री ढुवानी गर्दा पानी जम्मा हुने प्रविधि जडान गर्नु पर्ने भएको छ ।
नगरप्रमुख बलदेब सिंह गोम्देनले भने, ‘यो प्रविधि जडानका लागि ब्यवसायीलाई तीन महिनाको समय उपलब्ध गराएका छौँ । त्यस अवधिमा उहाँहरुले यो काम गरेर नगरपालिकाको योजनामा सहयोग गर्नेछन् । अन्यथा, ट्राफिक प्रहरीले यसबारेमा थप ट्राफिकले नियमन गर्छ ।’
नगरपालिकाको सभाकक्षमा आयोजित छलफलमा निर्माण ब्यवसायी भवानी बरालले सडक, ब्यवसायी र सरोकारवालाको सुरक्षाका लागि यो प्रविधि प्रभावकारी हुने बताए । यसका लागि धेरै रकम पनि नलाग्ने भन्दै बरालले सबै ब्यवसायीले यो नियम पालना गर्ने बताए ।
अर्का ब्यवसायी चन्द्र गौतमले पनि असोज पहिलो सातादेखि सामग्री ढुवानी गर्दा नगरले अघि सारेको नयाँ नियम पालना गरिने बताए । व्यवसायीहरुले नगरको निर्णयमा सहमति जनाउँदै अर्जुनधारा नगरले सुरु गरेको सराहनीय कार्यलाई अन्य पालिकाले पनि अनुशरण गर्नसक्ने योजना भएकोमा प्रशंसा गरेका थिए ।
आज भएको छलफलपछि अब व्यवसायीहरुले असोजदेखि पानी चुहाउँदै नदीजन्य सामग्री ढुवानी गर्न पाउने छैनन् । असार, साउन र भदौ महिनामा नदीजन्य सामग्री उत्खनन् हुने छैन । सोही अवधिमा टिपर र ट्याक्टर व्यवसायीले सवारी साधनको मर्मत गर्न सहमति जनाएका छन् ।
नगर क्षेत्र भएर बग्ने विरिङ, टाङटिङ नदी र आधा दर्जन क्रसर उद्योगबाट टिपर, ट्रयाक्टरबाट चिसो बालुवा ढुवानी गर्दा सडकमा निरन्तर पानी चुहिने गरेकाले सडक छिट्टै भत्किने गरेको र सडक हिलाम्मे भएको कारण पछाडिका सवारी साधनमा पानी तथा हिलो उछिट्टिने गरेकाले दुर्घटनासमेत हुने गरेको बताइएको छ ।
व्यवसायीका अनुसार नगरक्षेत्रमा दैनिक २ सयभन्दा बढी टिपर र त्यतिकै संख्यामा ट्याक्टरले नदीजन्य सामग्री ढुवानी गर्ने गरेका छन् ।
कार्यक्रममा क्रसर व्यवसायी, टिपर व्यवसायीहरु, ट्याक्टर ब्यवसायी सङघका अध्यक्ष इन्द्रबहादुर मगर, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविन जोशीलगायतको उपस्थिति थियो । छलफलमा सहभागीहरुले सडकको स्थायीत्वको लागि अघि सारिएको यो योजना प्रभावकारी रहने बताएका थिए ।