समाज

स्वास्थ्यकर्मीलाई बाह्रघरे करातेको सम्मान

By admin

June 03, 2023

शनिश्चरे । अर्जुनधारा ९ मा रहेको बाह्रघरे कराते डोजोले गाउँघरमा स्वास्थ्य सेवा पुराएको भन्दै स्वास्थ्यकर्मी दम्पत्तिलाई पैसाको माला लगाएर अनौठोरुपमा सम्मान गरेको छ ।

 

शनिश्चरे अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट खेम दाहाल र प्रकृति दाहाललाई डोजोले सम्मान गरेको हो । सम्मानित व्यक्तित्वलाई अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, डोजोका अध्यक्ष नारदमणि नेपाल, प्रशिक्षक हेमलाल परियार, जीवन राईलगायतले सम्मान गरेका थिए ।

 

उनीहरुलाई खदा, दोसल्ला लगाइदिनुका साथै पैसाको माला लगाएर अनौठोरुपमा सम्मान गरिएको थियो । गाउँघरमा पनि क्लिनिक सञ्चालन गरेर सर्वसुलभ र सहजढंगबाट स्वास्थ्य सेवा प्रदान गरेकाले सम्मान गरिएको आयोजक डोजोका अध्यक्ष नेपालले बताए ।

 

यसैगरी तीन जना अशक्त व्यक्तिलाई पनि डोजोले सम्मान गरेको छ । अर्जुनधारा ११ का स्थानीय सूर्यबहादुर खड्का, फूलकुमारी माझी र गायत्री माझीलाई पनि दोसल्ला र पैसाको मालाले सम्मान गरिएको थियो ।

 

समाजसेवी तथा ज्येष्ठ नागरिक धनकुमार दाहालको प्रमुख आतिथ्य तथा शेखर नेपालको सञ्चालनमा भएको कार्यक्रममा वडाध्यक्ष उप्रेती सिंहदेवी मन्दिरका अध्यक्ष वेदनिधि नेपाललगायतले आफ्ना भनाइ राखेका थिए ।