समाज

मोटरसाइकल दुर्घटनामा घाइते बुद्धशान्तिकी एलिसाको मृत्यु

By admin

June 03, 2023

झापा । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी झापा बुद्धशान्ति १ की २१ वर्षिया एलिसा अधिकारीको मृत्यु भएको छ । आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

 

जेठ १२ गते बिहान ११ बजे बुद्धशान्ति गाउँपालिका १ शान्ति चोकस्थित भित्री सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी उनी सख्त घाइते भएकी थिइन् । उनको आज बिहान राति २ः३० बजे उपचारको क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्थानीय सीतारमेश बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षकी विद्यार्थी थिइन् ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको मे ७ प ८१८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाको मे १ प ९७६५ नम्बरको अर्को मोटरसाइकल एकापसमा जुधेका थिए । मे ७ प ८१८१ नम्बरको मोटरसाइकलमा मृतक अधिकारीसहित तीन जना सवार थिए । दुर्घटनामा सोही मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति १ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ पनि सामान्य घाइते भएकी थिइन् ।

 

दुर्घटनापछि मे ७ प ८१८१ नम्बरको मोटरसाइकलका चालक बुद्धशान्ति १ का २५ वर्षीय दिपेश ढकाल र मे १ प ९७६५ नम्बरको मोटरसाइकलका चालक इलाम रोङ गाउँपालिका १ का ५८ वर्षीय धनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।