भद्रपुर । झापाको भद्रपुरमा लागुऔषध ब्राउनसुगरको बेचबिखन गर्ने एक कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ७ का ३७ वर्षीय अजित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार विश्वकर्माको घरमा ब्राउनसुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीले उनले लगाएको कालो रङको कट्टुको कम्मरको भागको इलास्टिकमा फोल्ड गरी कालो प्लास्टिकको टुक्रामा पोको बनाई लुकाइछिपाई राखेको २ ग्राम १२० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
ब्राउनसुगर फेला परेपछि प्रहरीले उनको कोठाको दराजबाट तीन थान डिजिटल तराजु, विभिन्न कम्पनीको १६ थान मोबाइलसमेत फेला पारेको छ ।
यता पक्राउ परेका कारोबारी विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको डीएसपी रिजालले बताए । प्रहरीले केही दिनअघि भद्रपुर नाकाबाट ब्राउनसुगरको कारोबार गर्ने दुई भारतीय नागरिकलाई समेत पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीबारीका २२ वर्षीय शिवु घोष र सोही ठाउँकी २६ वर्षीया श्यामली सोरेन रहेका छन् । भद्रपुरबाट ब्राउनसुगर खरिद गरी लगेका व्यक्ति पक्राउ परेपछि उनकै सुराकीको आधारमा उनीहरू पक्राउ परेको बताइएको छ ।