धरान । तराईका जिल्लामा अहिले उखरमाउलो गर्मी छ । तराईका जिल्लासँग जोडिएका पहाडी जिल्लाका क्षेत्र पनि गर्मीले प्रभावित बनिरहेको अवस्था छ । अन्य स्थानमा गर्मी बढे पनि धरानमा शितलै हुन्थ्यो । तर, अहिले धरानमा पनि गर्मी उखरमाउलो बनेको छ ।
गर्मी बढेसँगै धनकुटाको भेडेडार सिम्सुवा ३ मा रहेको नमस्ते झरनामा गर्मी छल्न आउनेको संख्या ह्वात्तै बढेको छ । अहिले त्यहाँ सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । पूर्वीतराईका युवायुवतीको विशेष आकर्षण एवम् गन्तव्य बनेको यो झरनामा अहिले आगन्तुकको संख्या ह्वात्तै बढेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् ।
दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको उनले सुनाए । तराईमा अत्यधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका हुन् । नमस्ते झरना गएर फोटो खिच्ने, झरनाको रमाइलो दृश्यावलोकन गर्ने, पौडीमा रमाउने, नुहाइधुवाइ गर्नमै पर्यटक रमाउने गरेका छन् ।
झरना अवलोकल गर्नकै लागि सयौं मानिस त्यहाँ पुगेका गरेका हुन् । विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारतबाट समेत आउने गरेको व्यवसायीहरु बताउँछन् । शनिबार र बिदाका दिन भने झनै संख्या बढ्ने गरेको व्यवसायीहरु बताउँछन् । शैक्षिक भ्रमण, वनभोज जस्ता कार्यक्रम झरना छेऊछाऊमा हुने गरेको व्यवसायीको भनाइ छ ।
अहिले भेडेटार, झरना आसपासका होटलमा कारोबार फस्टाएपछि ब्यवसायीसमेत उत्साहित देखिएका छन् । धरानदेखि उत्तर १७ किलोमिटर लामो नागवेली सडक पार गरेर भेडेटार बजार पुग्न सकिन्छ । भेडेटार बजारबाट ८ किलोमिटरको यात्रापछि पुगिने नमस्ते झरना गर्मी छल्न चाहनेहरूका लागि अर्को आकर्षक गन्तव्य हो ।
चिसो मौसममा अर्गानिक उत्पादनको स्वाद लिन भेडेटार, नाम्जे तथा ऐतिहासिक साँगुरी गढी पुग्नेहरूले झरनामा पुगेर नरुझेसम्म यात्रा अधुरै मान्छन् ।