समाज

अर्जुनधाराका विक्रम र फिदिमका मदन ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

June 05, 2023

झापा । बिर्तामोडको बसपार्कबाट प्रहरीले ठूलो मात्रामा ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा र पाँचथर फिदिमका युवा छन् ।

 

हिजो (आइतबार) साँझ ६ः३० बजे अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित मेमेङ होटल एण्ड लजमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित कारोबारीलाई पक्राउ गरेको हो ।

 

प्रहरीले उक्त होटलको रुम नम्बर १०१ मा बस्ने अर्जुनधारा नगरपालिका वडा नम्बर १० का ३० वर्षीय बिक्रम लिम्बू र पाँचथर फिदिम नगरपालिका वडा नम्बर १ का ३४ वर्षीय मदन मगरले प्लास्टिकमा प्याक गर्दै गरेको अवस्थामा ३६ ग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र २ हजार ५३० रुपैयाँ बरामद गरेको थियो ।

 

उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।