खुदुनाबारी । झापा अर्जुनधारा ३ का महिलाहरुलाई लक्षित क्षमता विकास तथा उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ । उनीहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ अर्जुनधारा ३ नम्बर वडा कार्यालयले तालिमको आयोजना गरेको हो ।
वडास्तरीय महिला समितिको व्यवस्थापनमा अर्जुनधारा ३ को हरित हलमा ७ दिनसम्म संचालन भएको तालिमको सहजीकरण सञ्चारकर्मी तिलक योञ्जन र खगेन्द्रा खुसीले गरेकी थिइन् ।
वडास्तरीय महिला समितिकी अध्यक्ष माया राईको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरु भीमा अधिकारी, रञ्जना तामाङ र रमादेवी बुढाथोकीले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।
जेठ १५ गतेबाट संचालन भएको तालिमका २७ जना सहभागीहरुलाई प्रमुख अतिथि राई, विशेष अतिथि ३ नम्बर वडा कार्यालयका अध्यक्ष सीताराम भट्टराईलगायतले प्रमाणपत्र वितरण गरेको कार्यक्रममा अर्जुनधारा ३ का वडा सचिव खगेन्द्र लिङदेनले तालिम संचालन र आयोजनाको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि राईले भौतिक विकासलाई मात्रै विकासको आधार नठानी नगारिकको क्षमता विकासमा स्थानीय सरकारले अहिले महत्वपूर्ण कार्यक्रमहरु ल्याएको बताइन् । वडाध्यक्ष भट्टराईले विशेषगरी वडामा रहेका महिला दिदीबहिनीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको सुनाए ।
सोही कार्यक्रममा अर्जुनधारा ३ का विपन्न परिवार छनोट गरी कपडा बितरण गरिएको थियो । वडास्तरीय महिला समितिकी सदस्य कविता भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुशिला नेपालले गरेकी थिइन् ।