समाज

चार वर्षदेखि हुन नसकेको हलुवागढको साधारणसभा सम्पन्न

By admin

June 05, 2023

शनिश्चरे । लामो समयदेखि हुन नसकेको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । विविध समस्याका कारण आर्थिक वर्ष ०७६/०७७ देखि नियमित साधारणसभा हुन सकेको थिएन ।

 

झापाको अर्जुनधारा १ स्थित हलुवागढको आइतबार २३औं वार्षिक साधारणसभा सम्पन्न भयो । साधारणसभा सम्पन्न भएपछि समूहको नियमित कार्य र घाटगद्दी गरिएका काठको विक्री वितरण गर्ने बाटो खुलेको छ ।

 

समूहका अध्यक्ष देउनारायण राईको अध्यक्षता र डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईको प्रमुख आतिथ्यमा सम्पन्न सभाले अघिल्लो तीन आर्थिक वर्ष ०७६/०७७ देखि ०७८/०७९ सम्मको महालेखा परीक्षण प्रतिवेदनसहित समूहको वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष ०७९/०८०को अनुमानित बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

 

समूहको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष राईले र महालेखा परीक्षण प्रतिवेदन सदस्य युवराज आचार्यले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा समूहको चालु आर्थिक वर्षको अनुमानित बजेट दुई करोड ५४ हजार ९४ रुपैयाँ उल्लेख गरिएको छ ।

 

प्रस्तुत बजेटमध्ये गरिबी न्यूनिकरणतर्फ ७० लाख १८ हजार ९३३ रुपैयाँ, वन विकासतर्फ ५० लाख १३ हजार ५२३ रुपैयाँ पाँच पैसा, प्रशासनिकतर्फ ४० लाख १० हजार ८१८ रुपैयाँ ८ पैसा र सामाजिक विकासतर्फ ४० लाख १० हजार ८१८ रुपैयाँ आठ पैसा विनियोजन गरिएको छ ।

 

कार्यक्रममा प्रमुख अतिथि राई, वडाध्यक्ष उपेन्द्र बस्नेत, समूहका निवर्तमान अध्यक्ष चक्रप्रसाद तामाङ, भिमले आधारभूत विद्यालयका शिक्षक शिशिर थापा मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए । समूहकी उपाध्यक्ष बुद्धकला ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन समूहका सचिव ओम तोलाङ्गीले गरेका थिए ।