झापा । मेचीनगर १० स्थित धुलाबारीमा जारी स्व प्रविण ग्वाल स्मृति फुटबल प्रतियोगितामा सोमबारको खेलबाट आयोजक लायन एफसी र चारपाने एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलबाट आयोजक लायन एफसीले गोल्डेन एफसीलाई ५-१ गोलअन्तरमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकका लागि रोमन भुजेलले ह्याट्रिक पूरा गरे ।
खेलको २०औँ मिनेटमा पहिलो गोल गरेका रोमन भुजेलले पहिलो हाफको इन्जुरी र खेलको ३६औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । यस्तै, खेलको ३३औँ र ३७औँ मिनेटमा निरज कार्कीले व्यक्तिगत २ गोल गरेका थिए ।
आयोजकका रोमन भुजेलले पहिलो गोल गरे पनि गोल्डन एफसीका सञ्जोक लिम्बूले खेलको २७औँ मिनेटमा गोल गरेर बराबरीमा ल्याएका थिए । खेलको म्यान अफ दी म्याच रोमन भुजेल भए । उनले नगद १ हजार प्राप्त गरे ।
आजै भएको दोस्रो खेलबाट शानदार जित दर्ता गर्दै बिर्तामोडको चारपाने एफसी सेमिफाइनलमा प्रवेश गरेका छ । चारपानेले इष्ट होराइजन स्कुलमाथि गोलको वर्षा गर्यो । शानदार जितमा चारपानेले ५-० गोलको नतिजा निकालेको हो ।
चारपानेका लागि खेलको १४औँ मिनेटमा बुद्ध चौधरी, १६औँ मिनेटमा प्रथम राई, २०औँ र २३औँ मिनेटमा समिर राजवंशी र २७औँ मिनेटमा अभिषेक राईले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच चारपानेका असिमजंग कार्की भए । उनलाई नगद १ हजार प्रदान गरियो ।
स्थानीय इष्ट होराइजन स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थी तथा खेलाडी स्व ग्वालको स्मृतिमा प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसँगै ट्रफी पाउने छ ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष डिके धिमालले जनाएका छन् । भोलि (मंगलबार)को खेल आदर्श युवा क्लब र तुर्केनी एफसीबीच हुनेछ ।