शिक्षा

गर्मीले अर्जुनधाराका विद्यालयमा विदा लम्बाइयो

By admin

June 07, 2023

शनिश्चरे । गर्मी अत्यधिक बढ्दै गएपछि अर्जुनधारा नगर क्षेत्रमा रहेका सबै विद्यालयमा विदा लम्बाइएको छ । अर्जुनधारा नगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै थप २ दिन विदा लम्ब्याइएको जनाएको छ ।

 

यसअघि नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सूचना जारी गरी दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण जेठ १९ गतेदेखि २३ गतेसम्मका लागि सबै विद्यालयमा गर्मी विदा दिइएको उल्लेख गरिएको थियो ।

 

तर, गर्मी झन् झन् बढ्दै गएपछि विदा थप गरिएको नगरकी उपप्रमुख खड्गमाया पराजुलीले सूचनामार्फत जनाएकी छन् । पहिलोपल्ट दिइएको विदा सकिएपछि आज (बुधबार) नगरका सबै विद्यालय सञ्चालनमा आएका थिए ।

 

अर्जुनधारा नगरक्षेत्रमा २८ वटा सामुदायिक, ३२ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेका छन् । गर्मीका कारण दिइएको विदा वर्षे विदामा कट्टा हुने पनि सूचनामा उल्लेख छ ।