अर्थ बजार

झापामा लम्पी स्किनबाट २ सय पशु मरे

By admin

June 08, 2023

झापा । झापामा लम्पी स्किनबाट करिव १९ हजार पशु संक्रमित भएका छन् । त्यसमध्ये २ सय मरेका छन् । जिल्लाको अर्जुनधारा नगरपालिकाबाहेक सबै पालिकाहरुमा लम्पी स्किनको संक्रमण देखिएको हो।

 

त्यसमध्ये गौरादह, कचनकवल, दमक, बाह्रदशी र कमलमा संक्रमण बढी देखिएको छ । एक महिनाअघि गौरादहमा सबैभन्दा बढी संक्रमण रहेकोमा अहिले कचनकवलमा संक्रमणको दर उच्च देखिएको छ ।

 

झापा जिल्लामा १९ हजारको हाराहारीमा पशु चौपायामा लम्पी स्किन देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भद्रपुरका प्रमुख शितल भट्टराईले बताइन् । सो भाइरल रोग अहिले सुधारोन्मूख अवस्थामा रहेको उनले सुनाइन् ।

 

‘एक महिना अगाडिको तुलनामा अहिले संक्रमण दर सुधारोन्मूख छ’, उनले भनिन् ,‘कतिपय ठाउँमा पालिकाका तर्फबाट र कतिपय ठाउँमा पशुपालक किसानहरु आफैँले लम्पी स्किनविरुद्ध भ्याक्सिन लगाउन थालेका छन् ।’

 

उनले झापामा भन्दा इलामका पशुमा लम्पी स्किनले बढी क्षति गरेको बताइन् । झापामा अहिले करिव पचास प्रतिशत पशुहरुमा रिकोभर भइसकेको कार्यालय प्रमुख भट्टराईले बताइन् ।

 

‘शुरु शुरुमा एक दिनमा पाँच हजार वटालाई संक्रमण देखापर्ने गरेको थियो ’उनले भनिन्, ‘अहिले निकै रिकोभर भइसकेको छ । हरेक वर्ष देखिने छालासम्बन्धी सो रोगको फैलावट यसवर्ष धेरै भएको हो ।’