खेलकुद

हात्तीकिल्ला एफसीद्वारा यु-१८ फुटबलको हिसाब सार्वजनिक

By admin

June 10, 2023

शनिश्चरे । झापाको अर्जुनधारा ८ स्थित हात्तीकिल्लामा आयोजित क्लबस्तरीय यु-१८ फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । हात्तीकिल्ला एफसीले जेठ १० गतेदेखि १५ गतेसम्म स्थानीय चन्द्रोदय आधारभूत विद्यालयको मैदानमा प्रतियोगिता आयोजना गरेको थियो ।

 

क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै हिसाब सार्वजनिक गरेको हो । क्लबका आर्थिक संयोजक तारा खतिवाडले प्रतियोगिता सम्पन्न गर्न २ लाख ६७ हजार ४६५ रुपैयाँ आर्थिक संकलन भएको बताए ।

 

उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २३ हजार, ८ नम्बर वडा कार्यालयबाट २० हजार र १ नम्बर वडाबाट ५ हजार सहयोग प्राप्त भएको थियो ।

 

यसैगरी, खेलप्रेमी सहयोगी दाताबाट २ लाख १९ हजार ४६५ रुपैयाँ संकलन भएको आर्थिक संयोजक खतिवडाले जानकारी दिए । उक्त रकम क्लबका पदाधिकारी, सदस्यले रसिदमार्फत सहयोग संकलन गरेका हुन् ।

 

क्लबले प्रतियोगिता सम्पन्न गर्न २ लाख ५४ हजार १ सय रुपैयाँ खर्च गरी १३ हजार ३६५ रुपैयाँ बचत गरेको छ । खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि शनिश्चरे एफसीले जितेको थियो ।

 

प्रतियोगितामा बिर्तामोडका ४ टिम, अर्जुनधारा र बुद्धशान्तिका २-२ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । क्लबका अध्यक्ष कुमार कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष हिमाल पुरी, सचिव विष्णु श्रेष्ठ, सदस्य विकास दाहाललगायत स्थानीयको उपस्थिति रहेको थियो ।