समाज

पाँचथरमा भारतीयलाई नागरिकता बनाइदिन खोज्ने २ जना पक्राउ

By admin

June 14, 2023

फिदिम । भारतीय नागरिकलाई नागरिकता बनाइदिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका १ का गंगाप्रसाद आङदेम्वे र भारत आसाम निवासी समित आङदेम्वे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

 

प्रहरीका अनुसार भारतीय नागरिक समित गंगाप्रसादका झड्केलो छोरा हुन् । आङदेम्वेद्वय यसअघि पनि पटक–पटक नागरिकता लिन प्रशासन कार्यालय पुगेका थिए । प्रहरीका अनुसार पछिल्लो पटक जेठ ३० गते जिल्ला प्रशासन कार्यालय पाँचथर आएका थिए ।

 

पक्राउ परेका समितको यसअघि नै भारतबाट नागरिकता लिन भारतीय मतदाता नामावलीमा समेत नाम समावेश भएको पाइएको थियो । समितकी आमाको पहिलो विवाह भारत आसामका नागरिकसँग भएको थियो ।

 

दोस्रो विवाह गरेर गंगासँग आएकी उनले अंगिकृत नागरिकता प्राप्त गरेकी छन् । समितको नागरिकता बनाउन माझीटार आधारभूत विद्यालय हिलिहाङको लेटरप्याडमा चारित्रिक प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरिएको छ ।

 

ती प्रमाणपत्रमा यसअगावै मृत्यू भइसकेका प्रधानाध्यापकको दस्तखत प्रयोग भएकाले त्यो पनि नक्कली हुनसक्ने प्रहरीको अनुमान छ । मंगलबार पक्राउ परेका दुवैजनालाई बुधबार पाँचथर जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रनाउ खतिवडाले बताए ।