खेलकुद

मुख्यमन्त्री कप फुटबलमा धनकुटा र सुनसरी विजयी

By admin

June 20, 2023

ओखलढुंगा । कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको तेस्रो र चौथो खेलमा धनकुटा र सुनसरी विजयी भएका छन् ।

 

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ओखलढुंगामा जारी प्रतियोगितामा धनकुटा र सुनसरी विजयी भएका हुन् । पहिलो खेलमा धनकुटाले अर्को पहाडी जिल्ला भोजपुरलाई ५-३ गोल अन्तरले हरायो । धनकुटाले अब वाकओभर पाएको इलामसँग खेल्नेछ ।

 

धनकुटाका लागि कुसुम थुलुङ राईले २ गोल गरे भने विवेक राई, दिपेन शाक्य र वीरेन लिम्बूले एकएक गोल गरे । भोजपुरको तर्फबाट अनिश बस्नेत, सन्तोष तामाङ र सौगात राईले गोल गरे ।

 

खेलको म्यान अफ द म्याच धनकुटाका कुसुम थुलुङ राई भए । उनलाई बोर्डका सदस्य सचिव हंशराज वाग्ले र ओखलढुंगा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले नगद चार हजार र मेडल प्रदान गरे ।

 

दोस्रो खेलमा सुनसरीले पाँचथरलाई पराजित गर्यो । सुनसरीले पाँचथरलाई ३-० गोल अन्तरले हराएको हो । सुनसरीले अब तेह्रथुम र खोटाङबीचको विजेतासँग खेल्नेछ ।

 

सुनसरीका निमा शेर्पाले व्यक्तिगत २ गोल र योगेन्द्र कार्कीले ! गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सुनसरीका शेर्पा भए । उनले नगद चार हजार र मेडल पाए ।

 

प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ । ताप्लेजुङले भने पहिरोका कारण सडक अवरुद्ध भएपछि सहभागिता जनाउन सकेन ।

प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ । प्रतियोगितको फाइनल खेल असार ९ गते हुनेछ । भोलि (बुधबार)को खेल झापा र ओखलढुंगा, तेह्रथुम र खोटाङ तथा संखुवासभा र उदयपुरका बीच हुनेछ ।