खेलकुद

साफ च्याम्पियनसिपमा नेपालको खराब शुरुवात

By admin

June 21, 2023

झापा । बुधबारदेखि शुरु प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा गत संस्करणको उपविजेतासमेत रहेको नेपालले खराब शुरुवात गरेको छ । बैंगलोरस्थित श्री कान्तिरवा स्टेडियममा भएको उद्घाटन खेलमा नेपालले पहिलोपटक सहभागिता जनाइरहेको बलियो कुवेतसँग ३-१ को हार बेहोर्यो ।

 

खेलको २३औं मिनटमा कप्तान खालेद हजियाको गोलबाट कुवेतले खेलमा अग्रता बनाएको थियो । कर्नर किकमा बक्सभित्र अनमार्क रहेका खालेदले सटिक हेड गोलबाट कुवेतलाई शुरुवाती अग्रता दिलाएका थिए । ४१औं मिनेटमा शबैब अलखादीले कुवेतको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म नेपाल २-० ले पछाडि थियो ।

 

दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन गर्यो । ५७औं मिनेटमा सनिस श्रेष्ठको सुन्दर हेडर प्रयास विपक्षी गोपोष्टको नजिकैबाट बाहिरिंँदा नेपाली टोली चुक्चुकाउनु परेको थियो ।

 

त्यसको केही मिनेटलगत्तै कुवेतले पेनाल्टीको अवसर पायो । अनन्त तामाङले विपक्षीको बल रोक्ने प्रयासमा बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ६५औं मिनटमा अब्दुलाले सहजै गोलमा परिणत गर्दै खेललाई ३-० को स्थितिमा ल्याए ।

 

तेस्रो गोल खाएको केही मिनेटमै नेपालले गोल फर्काउन सफल भयो । अन्जन बिष्टले नेपालका लागि एक गोल गरे । विपक्षी डिफेन्डर र गोलरक्षकलाई चक्मा दिंदै अन्जनले नेपालका लागि एकमात्र सटिक गोल गरे । तर, टोलीलाई हारबाट जोगाउन सकेनन् । अन्तर्राष्ट्रिय फुटबलमा अन्जनको यो १२औं गोल समेत थियो ।

 

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आयोजक तथा साविक विजेता भारतसँगै शनिबार खेल्नेछ । भारतले आज बेलुका नै दोस्रो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ ।