खेलकुद

विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

By admin

June 22, 2023

झापा (एजेन्सी) । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। जिम्बावेमा जारी खेल नेपाली समयअनुसार १२ः४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

 

नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो। ओडिआई वरियतामा वेस्टइन्डिज १०औँ स्थानमा छ भने नेपाल १४औँ स्थानमा छ। वेस्ट इन्डिज सन् १९७५ र १९७९ विश्वकपको च्याम्पियन टोली हो । त्यस्तै २०१२ र २०१६ को पनि टि२० विश्वकप उपाधि जितेको थियो। नेपाल भने पहिलोपटक विश्वकप छनोटमा खेल्दैछ।

 

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ। जिम्बाबेसँग हार र अमेरिकासँग जित हासिल गरेको नेपालको अगाडिको यात्रा आजको खेलले तय गर्नेछ।

 

रोचक के छ भने नेपालका अहिलेका प्रशिक्षक मोन्टि देसाई वेस्ट इस्डिजका पूर्व ब्याटिङ प्रशिक्षक पनि हुन्। यसले पहिलोपटक सामना गर्न लागेको वेस्टइस्डिजबारेमा बुझ्न नेपाललाई थप सहज भएको छ।