शनिश्चरे । झापाको अर्जुनधारामा किरात राई जातिको सांस्कृतिक महत्वका तीन चुल्हा, नदी, ढुंगा, पोखरीलगायतका प्रतिकात्मक रुप दिएर उद्यान निर्माण गरिएको छ ।
किरात राई यायोक्खा अर्जुनधाराले ९ नम्बर वडास्थित साकेला थान रहेको स्थानमा उक्त ‘मुन्धुम सांस्कृतिक उद्यान’ निर्माण गरेको हो । उक्त उद्यानको अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले एक समारोहका बीच उद्घाटन गरिन् ।
नमूना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको साकेला थान परिसरमा निर्माण भएको ‘मुन्धुम सांस्कृतिक उद्यान’ राई जातिको संस्कार र संस्कृतिसँगै उनीहरुको इतिहासबारे जानकारी दिने उद्देश्यले किराया अर्जुनधाराले उद्यान निर्माण गरेको अध्यक्ष विजय राईले बताए ।
उद्यानमा तीन ढुंगा चुल्हा, साल्पा पोखरी, खुवालुङ, सप्तकोशी नदीका तीन सहायक नदी अरुण, तमोर र दूधकोशीको प्रतीकात्मक रुपमा राखिएको छ । अनुमानित डेढ कठ्ठाको क्षेत्रफल रहेको उद्यानमा बगैंचा, आगन्तुकहरुको लागि बस्नलाई आठ वटा फलामको बेञ्च पनि निर्माण गरिएको छ ।
संस्था र दाताहरुको अनुमानित एक लाख ३७ हजार रुपैयाँ बढीको लागतमा उद्यान निर्माण भएको यायोक्खाका सचिव सिंहबहादुर राईले जानकारी दिए ।
अर्जुनधारा ८ की चन्द्रकला राई, अर्जुनधारा ९ का ओम मिश्र, शेरबहादुर थापा, अर्जुनधारा ७ का नारायणंशान्ता चाम्लिङ राई, अर्जुनधारा ८ का राजबहादुर र जंगबहादुर साङपाङ राई, भीमश्वर, रविन, यादव र उदय राई, मीनाकुमारी राईबाट साल्पा पोखरी, फूल राख्ने फलामको स्ट्याण्ड, फलामको बेञ्च निर्माणका लागि आर्थिक सहयोग भएको सचिव राईले बताए ।
अर्जुनधारा ८ का क्या. मानबहादुर चाम्लिङ राई, सुभानसिंह+मिश्राकुमारी बान्तवा राई, प्रमिला राई, क्या. शिवकुमार+मनु राईबाट पनि उद्यान निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरकी प्रप्रअ राई, किराया झापाका सल्लाहकार एवम् अग्रज पत्रकार दिपीन राई, किराया झापाका उपाध्यक्ष केवलराम राई, सदस्य क्या शिवकुमार चाम्लिङ राई, दाता शेरबहादुर थापालगायतले समितिले गरेको उद्यान निर्माणको कार्य उदाहरणीय र प्रशंसनीय भएको धारणा व्यक्त गरेका थिए । समितिकी वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव सिंहबहादुर राईले गरेका थिए ।