अर्थ बजार

घट्यो डिजल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य

By admin

July 04, 2023

झापा । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

 

देशको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजल, पेट्रोल र मट्टीतेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा छ रुपैयाँ र तेस्रो वर्गमा पाँच रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

 

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १६९ र तेस्रो वर्गका क्षेत्रमा १७० रुपैयाँ तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर १७५ रुपैयाँ थियो ।

 

यस्तै डिजल र मट्टीतेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा १४९ र तेस्रो वर्गका क्षेत्रमा १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

 

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

 

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ११५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।