खेलकुद

बिर्तामोडका ललित दुई स्पर्धा खेल्न माल्दिभ्स प्रस्थान

By admin

July 05, 2023

झापा । बडीबिल्डर ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा प्रतिस्पर्धाका लागि प्रस्थान गरेका छन् । दुवै प्रतियोगिता असार २४ गतेसम्म हुनेछ । उनी झापा बिर्तामाेडकाे ग्यालेक्सी फिटनेसका प्रशिक्षक हुन् ।

 

ललितले १३औं दक्षिण एसियाली शारीरिक सुगठन र प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भाग लिने भएका छन् । गत साता सम्पन्न आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताका ओभरअल च्याम्पियन ललितले दुवै प्रतियोगितामा पुरुष ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

 

आमन्त्रण प्रतियोगितामा शीर्ष पाँच स्थान हात पार्ने खेलाडीले क्रमशः ५ हजार, ३ हजार, २ हजार, १ हजार र ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । ललितसहित ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गरेका छन् ।

 

अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा दिनेश श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायतले मंगलबार बिदाइ गरेका थिए ।