समाज

करेन्ट लागेर मृत्यु भएका राजवंशी परिवारलाई ७ लाख क्षतिपूर्ति

By admin

July 07, 2023

बिर्तामोड । गत शुक्रबार बिर्तामोड २ मा सडक निर्माणको क्रममा करेन्ट लागेर मृत्यु भएका धनबहादुर राजवंशीको परिवारलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।

 

बिर्तामोड नगरपालिका ३ सैनिकमोडका ४० वर्षीय राजवंशीलाई काममा लगाउने इलाम सूर्योदय नगरपालिका ८ मा रहेको सिद्धिथुम्का निर्माण सेवा प्रालिले सो क्षतिपूर्ति ब्यहोर्ने सहमति भएको हो ।

 

घैलाडुब्बा-बिर्ताबजार सडकखण्डअन्तर्गत बिर्तामोड २ स्थित कच्छुबारीमा गत शुक्रबार बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

 

ठेकेदार कम्पनीको लापरवाहीका कारण राजवंशीको मृत्यु भएको भन्दै मृतक परिवारले क्षतिपूर्तिको लागि दबाब दिएका थिए । बिर्तामोड ३ नम्बर वडा कार्यालयमा मृतक परिवार र ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सहमति भएको हो ।

 

सहमतिपत्रमा मृतकका दाजु मोहन राजवंशी र ठेकेदार कम्पनीका संचालक दीपकप्रकाश उप्रेतीले हस्ताक्षर गरेका छन् ।