समाज

फिदिममा स्मार्ट लाइट जोडेपछि थपियो सौन्दर्यता

By admin

July 07, 2023

फिदिम । पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा स्मार्ट लाइट जडान गरिएको छ । बजार क्षेत्र फराकिलो बनाइएको मेची राजमार्गअन्तर्गत पर्ने सडकमा स्मार्ट लाइटको जडानपछि सदरमुकाम क्षेत्रमा सौन्दर्यता थपिएको छ ।

 

फिदिम नगरपालिका र विद्युत् प्राधिकरणको लगानीमा स्मार्ट लाइट जडान गरिएको हो । फिदिम बजारको मेनरोडसहित विभिन्न स्थानमा १७६ वटा स्मार्ट लाइट जाडन भएको छ । बिहीबार साँझ सडक बत्तीको औपचारिक उद्घाटन भएको हो ।

 

प्रतिनिधिसभा सांसद बसन्तकुमार नेम्बाङले स्मार्ट लाइटको उद्घाटन गरेका हुन् । फिदिमलाई सुन्दर बनाउने एउटा सपना पूरा भएको नेम्बाङको भनाइ थियो ।

 

नगरपालिकाको ६० प्रतिशत लगानीमा १ करोड २१ लाख ३ हजार ४०३ रुपैयाँ खर्चिएर स्मार्ट लाइट जडान गरिएको बताइएको छ ।