उर्लाबारी । मोरङको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका मोरङको लेटाङबाट कानेपोखरीतर्फ आउँदैगरेको ट्याम्पो र विपरीत दिशातर्फ जाँदै गरेको बोलेरो जङ्गल क्षेत्रमा एकापसमा ठोक्किँदा टेम्पो चालक र ट्याम्पोमा सवार बालिकाको मृत्यु भएको हो ।
यसैगरी कानेपोखरी-रङ्गेली सडक खण्डको शितलचौकमा शुक्रबार राति साढे ११ बजे तीव्र गतिमा कानेपोखरीतर्फ जाँदैगरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका अनुसार मृत्यु हुनेमा प्र. १-०२-००३ ह १३१२ नम्बरको टेम्पो चालक कानेपोखरी ६, हनुमान चौकका ४२ वर्षीय सागर तामाङ र कानेपोखरी ६ कि ९ वर्षीया रोशनी मगर रहेका छन् ।
तामाङको घटनास्थलमै मृत्यु भएको थियो भने रोशनीको उपचारका लागि अस्पताल लाँदैगर्दा बाटोमै मृत्यु भएको हो । रोशनीको आमा कानेपोखरी ६ मिलन चौककी ३५ वर्षीया टीका मगरको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
दक्षिणतर्फ आउँदैगरेको टेम्पो प्र. १-०२-००२ च ४१७३ नम्बरको बोलेरोसँग ठोक्किएको थियो । शुक्रबार बिहान लेटाङको फायरलाइनमा सडकमा रुख ढलेको थियो । सडकमा एकतर्फी मात्र गाडी चल्न सक्नेगरी रुख पन्छाएर सडक खोलिएको थियो ।
यता, मोरङको कानेपोखरी ६ रमाइलोबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र. २०१-००३-४९३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झाडीमा पल्टिँदा सिराहा लाहान २४ का ३५ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शुक्रबार राति साढे ११ बजेतिर कानेपोखरी ७ को शितलचौक नजिकै मोटरसाइकल पल्टिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
भुजेलको उपचारका लागि अस्पताल लैजानेक्रममा मृत्यु भएको थियो । भुजेलसँगै मोटरसाइकलमा सवार सोही स्थानका ३४ वर्षीय वीरेन्द्र मगरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।