समाज

पाँचथरमा खाद्यान्न बोकेका सयौं सवारी बाटैमा अलपत्र

By admin

July 10, 2023

पाँचथर । झापाको बिर्तामोडदेखि ताप्लेजुङको दोभानका लागि खाद्यान्न ढुवानी गरेर आएका १६ वटा ट्रक पाँचथरको फिदिम ४ थापाटारमा गत सोमबारदेखि रोकिएका छन् । बिर्तामोडबाटै ताप्लेजुङ सदरमुकाम फुङलिङका लागि खाद्यान्न लिएर हिंडेका अन्य २४ वटा ट्रक थापाटार आइपुगेको ४ दिन भयो ।

 

योसँगै पाँचथरको जोरपोखरी, गोपेटार, थर्पु र अमरपुरका लागि सामग्री लिएर आएका थप १५ गरी ४५ वटा ट्रक जोरसालदेखि हेवा खोलासम्म सडकमा लामबद्ध छन् । झापाबाट हेवापारिको पाँचथर र ताप्लेजुङ मात्रै होइन, पारिबाट फिदिम र इलाम हुँदै झापातर्फ हिँडेका ६८ वटा मालवाहक ट्रक भारपातर्फको सडकमा अलपत्र छन् ।

 

चालक खगेन्द्र लिम्बूले हेवा खोला वारिपारि गरी ट्रक मात्रै ११३ वटा रोकिएको बताए । यो सँगै पिकअप र ट्याक्सी गरी दुई सय बढी साधन गन्तव्यमा जान नसकी सडकमै रहेको उनले बताए । ‘डाइभर्सन गरेर बाटो खुलाइएको खबर पाएसँगै ताप्लेजुङबाट झापा हिँड्यौं, राति बाढी आएर लगिदिएछ, यहाँ आएर संकटमा परियो,’ उनले भने ।

 

असार २ मा आएको बाढीले मेची राजमार्गमा हेवा खोला पुल बगाएपछि यो मार्ग भएर आउजाउ गर्ने सवारी र ढुवानी साधनका कर्मचारीले यस्तै सास्ती बेहोरिरहेका छन् । उनीहरूमध्ये केहीले ट्रकभित्रै र कतिपयले सडकमा ग्यास जोडेर खाना पकाउँछन् । अधिकांश सुक्खा खान्कीकै भरमा छन् ।

 

चालकहरूका अनुसार विपद्पछि हेवा खोला किनारका होटल र चमेनागृहमा मूल्यवृद्धि अकासिएको छ । बाढी आउनुअघि १५० रुपैयाँमा पाइने खानालाई हिजोआज ४ सय रुपैयाँ तिर्नुपर्छ । २५ रुपैयाँको चाउचाउ १ सय र २५ रुपैयाँको अन्डा प्रतिगोटा ५० पुर्‍याइएको छ ।

 

यसअघि ३ पटकसम्म डाइभर्सन गरेर सवारी वारपार गराइए पनि बाढी आएर पुरिदिँदा एक सातायता हेवा खोलाबाट सवारीसाधनले वारपर गर्न सकेका छैनन् । खोलामा पुनः डाइभर्सन बनाएर सडकमा थन्किएका सवारी र ढुवानीका साधन गन्तव्य पठाउने प्रयास जारी रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए ।

 

हेवा खोलामा बाढीले पुल बगाएपछि निर्माण थालिएको बेलिब्रिज निर्माणको काम सुस्त छ भने यसअघि ह्युमपाइपमार्फत पानी कटाएर डाइभर्सन गरिए पनि वर्षा हुने र बाढी आउने क्रम जारी रहँदा सफल भएको छैन । त्यसअघि डाइभर्सनमार्फत तीन पटक यातायात खुलाइएको थियो ।

 

पछिल्लो पटक असार १८ मा डाइभर्सनमार्फत केही घण्टा सवारी र ढुवानीका साधन आवागमन गराइएको थियो । पुनः आएको बाढीपछि मंगलबारदेखि सवारी आवागमन ठप्प छ । इकान्तिपुरबाट