समाज

झापाली पत्रकारसँग अर्जुनधारा धाममा विशेष पूजा

By admin

July 10, 2023

अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा झापाका पत्रकारसँग सोमबार विशेष पूजा गरिएको छ । धाम व्यवस्थापन समितिले पत्रकारहरुसहित भगवान शिवजीको विशेष पूजा आराधनाको आयोजना गरेको हो ।

 

पूजापछि धामपरिसरमा आयोजित कार्यक्रममा धामका अध्यक्ष नविन गट्टानीले धार्मिक पर्यटकीय स्थलमा विकास निर्माणको गतिविधि भइरहेको बताउँदै विशेष पूजाले आत्मीय जोड्ने कार्यलाई प्राथमिकता दिइएको बताए ।

 

धामले यसअघि अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि विशेष पूजा गरेको थियो । अब विभिन्न संघसंस्था, विद्यालय, कार्यालयसँग पनि विशेष पूजाको आयोजना गर्दै लगिने धामले जनाएको छ ।

 

धामको धार्मिक तथा सांस्कृतिक, विकास निर्माण, आर्थिक, सामाजिक अवस्था र भावी योजनाका सम्बन्धमा जानकारी गराउँदै अध्यक्ष गट्टानीले खडेबाबा पार्कलाई पूर्णता दिने कार्य भइरहेको बताए ।

 

आगामी श्रावणी पर्वमा यसवर्ष पुरुषोत्तम मास परेकाले दैनिक कथा प्रवचन, शिवजीमा जलार्पण, रुद्राभिषेक, महाप्रसादको ब्यवस्था गरिएको पंडीत अग्नि सिग्देलले बताए । भक्तजनको सुबिधालाई मध्यनजर गर्दै यसवर्ष पालको ब्यवस्था गरिएको उनले जानकारी दिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले पनि आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन धामका सचिव शिव खतिवडाले गरेका थिए भने अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राईलगायत विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।