समाज

रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा, आज अति ठूलो वर्षा हुने अनुमान

By admin

July 14, 2023

झापा । कोशी र मधेस प्रदेशका पूर्वी क्षेत्रमा गए रातिदेखि नै ‘आरीघोप्टे’ वर्षा भइरहेको छ । गए रातिदेखि नै यी प्रदेशका केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

 

आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ । अहिले पनि यी प्रदेशका केही ठाउँमा यसै गरी पानी परिरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार थोरै समयमा अत्यधिक वर्षा भएको छ ।

 

पछिल्लो तीन घण्टामा मोरङमा ११५ मिलिलिटर, सप्तरीमा १०८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

आज पनि कोशी र मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद् झाले जानकारी दिएका छन् । मौसमविद्का अनुसार पूर्वी क्षेत्रमा मनसुन सक्रिय रहेकाले यी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको हो ।

 

यस्तै बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने अनुमान छ । राति सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ । अत्यधिक वर्षा भएका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।