अर्थ बजार

ताप्लेजुङमा ग्यास र पेट्रोलियम पदार्थको अभाव

By admin

July 14, 2023

फुङ्लिङ । पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ ।

 

बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो ।

 

यही असार २ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध बनेको हो । राजमार्ग अवरुद्ध भएसँगै यातायात तथा ढुवानीका साधन नचल्दा ताप्लेजुङमा ग्यासको अभाव सिर्जना भएको हो ।

 

हाल ग्यास र पेट्रोलियम पदार्थको अभाव भएपछि सदरमुकाम फुङ्लिङसहित जिल्लाका अन्य बजार तथा ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित बनेको छ । ग्यास अभाव हुँदा सबैभन्दा बढी फुङ्लिङ बजार क्षेत्रमा कोठा भाडामा लिएर बस्ने परिवार प्रभावित भएका छन् । पढाइ र जागिरका साथै अन्य सिलसिलामा बजारमा कोठा भाडामा लिएर बस्दै आएकाहरु प्रभावित बनेका हुन् ।

 

ग्यास पाउन छाडेपछि खाना पकाउनका लागि विकल्पमा दाउरा बाल्न थालिएको छ । चुल्हो र आगो बाल्ने ठाउँ भएका परिवारले ग्यासको सट्टामा दाउरा तथा कोइले चुल्हो प्रयोग गरे पनि भाडावालका लागि त्यो असम्भव भएको छ । ग्यासको अभावका कारण कष्टपूर्ण दैनिकी बिताउँदै आएको भाडावाल वसन्त लिम्बूले बताए ।

 

ग्यासको अभावमा फुङ्लिङ बजारका होटल व्यवसायी पनि प्रभावित बनेका छन् । ग्यास पाउन छाडेपछि बजारका कतिपय होटलले आफ्नो सेवा नै बन्द गरेका छन् । होटल व्यवसायलाई निरन्तरता दिँदै आएका व्यवसायीले भने हेवा खोलामा रहेको झोलुङ्गे पुल र बाढीले मोटरेबल पुल बगाएपछि सुरु गरिएको अस्थायी तुइनमार्फत पाँचथरको फिदिमबाट ग्यास आपूर्ति गर्दै आएको बताइएको छ ।

 

मेची राजमार्ग अवरुद्ध बनेसँगै यहाँबाट खाली सिलिन्डर पठाउन र उताबाट आयात गर्न असम्भव भएपछि ग्याससहित पेट्रोलियम पदार्थको सबैभन्दा बढी अभाव भएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताए ।

 

अध्यक्ष थापाका अनुसार राजमार्ग अवरुद्ध भएयता हेवा खोलामा डाइभर्सनमार्फत सडक खुलेको मौकामा ४७० ग्यास सिलिन्डर भित्रिए पनि त्यो अपर्याप्त भएको छ । ग्यास आपूर्ति गर्न राजमार्ग नखुलेसम्म कुनै विकल्प नरहेको उनको भनाइ छ ।