समाज

आठराईमा पहिरोले घर भत्किँदा एक जनाको मृत्यु, चार घाइते

By admin

July 15, 2023

आठराई । तेह्रथुमको आठराई गाउँपालिकामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोले घर लडाउँदा ६३ वर्षीय देव थलङको मृत्यु भएको हो ।

 

शुक्रबार दिउँसो आठराई गाउँपालिका २ स्थित पहिरोले घर भत्काउँदा घाइते भएका थलङलाई उद्धार गरी पाँचथर अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए ।

 

साविक खाम्लालुङ ४ वाइफुङ, हाल आठराई गाउँपालिका २ नम्बर वडामा आएको पहिरोमा परेर ८४ वर्षीया जसमाया खापुङ, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएका छन् ।

 

उनीहरुमध्ये गणेश र राजेशलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ भने जसमाया र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र सक्रान्ति बजारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।