समाज

झापामा बाढीले सीमा स्तम्भ बगायो

By admin

July 15, 2023

बिर्तामोड। झापाको गौरीगन्ज गाउँपालिका भएर बग्ने कमल खोलामा आएको बाढीले नेपाल-भारत सीमा क्षेत्रमा रहेको एउटा पिलर (सीमा स्तम्भ) बगाएको छ। शुक्रबार आएको बाढीले उक्त पिलर बगाएको प्रहरीले जनाएको हो।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगंज गाउँपालिका वडा नम्बर २ लालमाटीस्थित दशगजा क्षेत्रमा रहेको १४०/१५ नम्बरको पिलरलाई कमल खोलामा आएको बाढीले बगाएपछि खोजी कार्य भइरहेको छ।

 

यसैबीच, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार अबिरल वर्षाको कारण गौरादह नगरपालिका वडा नम्बर ५ चप्रमारीको डुब्बाटोल डुब्बानमा परेको छ। चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गरेपछि यहाँका २६ घरधुरीमा पानी पसेर डुबान भएको उनले बताए ।

 

२६ घरधुरीमा डुबानमा परे पनि तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा नरहेका कारण त्यहाँ निगरानीमा राखिएको प्रहरीले जनाएको छ। पानी सामान्यरुपमा जमेको र पानी घट्ने क्रममा रहेकाले जोखिम नरहेको पाइएको उनको भनाइ छ ।