समाज

अर्जुनधारा धाममा श्रावणी पर्वको तयारी पूरा

By admin

July 16, 2023

यमुना ढुंगाना, अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्व २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । झापाको अर्जुनधारा ७ मा रहेको धाममा श्रावणी पर्वका लागि देश विदेशदेखि भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।

 

श्रावणी पर्वको अवसरमा जलार्पण गर्न आउने भक्तजनहरुका लागि परिक्रमा मार्गको व्यवस्थापन, पण्डालको व्यवस्थापन, पार्किङको व्यवस्थापन आदि कार्य गरिएको धाम व्यवस्थापन समितिका महासचिव शिवलाल खतिवडाले बताए ।

 

त्यसैगरी भक्तजनहरुको लागि बनाइएको मार्गहरुको नामकरण पाँच पाण्डवको नामबाट गरिएको छ । जसअनुसार भक्तजनहरु सहदेव मार्गबाट प्रवेश गर्दै नकुल मार्ग-अर्जुन मार्ग-भीम मार्ग र युधिष्ठिर मार्गहुँदै जलार्पणका लागि भक्तजनहरु मुख्य मन्दिरतर्फ प्रवेश गर्नेछन् ।

 

गत वर्षभन्दा फरक ढंगले कार्यक्रमको आयोजना गरिएको धाममा यसवर्ष ४० हजारभन्दा बढी भक्तजनले जलार्पण गर्ने महासचिव खतिवडाले जानकारी दिएका छन् । जलार्पणको लागि नेपाल र छिमेकी देश भारतको विभिन्न राज्य आसाम, पश्चिम बंगाल, मनिपुरबाट भक्तजन आउने गरेको बताइएको छ ।

 

भगवान शिवको उपासना गर्दा सम्पूर्ण मनोकामना पूर्ण हुने हुँदा श्रावणी पर्वको विशेष महत्व रहेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देल बताउँछन् । “यो वर्ष हरि र महादेवको संयोग परेको हुँदा हरिहरको मास अर्थात् पुरुषोत्तम महिना परेको हुँदा यस पटकको श्रावणी पर्वको विशेष महत्व रहेको छ”, उनले प्रष्ट पारे ।

 

त्यसैगरी श्रावणी पर्वको अवधिमा राष्ट्र शान्ति र सम्पूर्ण प्राणीहरुको कल्याण्को कामना गर्दै हरेक दिन महारुद्राभिषेक गरिने र साउन २ गतेदेखि एक महिनासम्म पुरुषोत्तम महात्मे कथा दैनिक ११ देखि १ बजेसम्म प्रवचन हुने बताइएको छ । – प्रशिक्षार्थी पत्रकार