समाज

श्रावणी पर्वः अर्जुनधारा धाममा भक्तजनको घुइँचो

By admin

July 17, 2023

अर्जुनधारा । श्रावणी पर्वको अवसरमा साउन महिनाको पहिलो सोमबार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा भगवान शिवमा जलार्पण गर्न भक्तजनको घुइँचो लाग्यो ।

 

अर्जुनधारा ७ मा रहेको धाममा विहान ४ बजेदेखि उपस्थित भएका भक्तजनहरुले पूजाअर्चनासहित भगवान शिवमा जलार्पण गरेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।

 

श्रावणी पर्वमा भगवान शिवको उपासना गर्दा सम्पूर्ण मनकामना पूर्ण हुने तथा यसवर्ष हरि र महादेवको संयोग परेको हुँदा हरिहरको मास अर्थात् पुरुषोतम महिना पनि परेका कारण भक्तजनहरुको सहभागितामा बृद्धि भएको मूलअर्चक सिग्देलले दावी गरे ।

 

जलार्पण कार्यक्रमसँगै रुद्राभिषेक, भक्तजनहरुको लागि परिक्रमा मार्गको व्यवस्थापन, सुरक्षाको व्यवस्थापन, पार्किङको व्यवस्थापन, विभिन्न संघसंस्थासँगको सहकार्यमा पानी, सर्वत, सातु, प्रसाद आदिको व्यवस्थापन गरिएको थियो । त्यसैगरी साउन २ गतेदेखि एक महिनासम्म दैनिक ११ बजेदेखि १ बजेसम्म पुरुषोत्तम महात्मे कथाको प्रवचन हुने बताइएको छ ।