समाज

झापामा एक वर्षमा आठ मानिस र दुई वटा हात्तीको ज्यान गयो

By admin

July 21, 2023

भद्रपुर । झापामा आर्थिक वर्ष २०७९/८० मा मानव–हात्ती द्वन्द्वका क्रममा आठ जना मानिस र २ वटा हात्तीले ज्यान गुमाएका छन् । दुई गैरनेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् भने यसैबीचमा दुई वटा हात्ती पनि मरेका छन् ।

 

गैरनेपालीमा एक जना भुटानी र एक जना भारतीय रहेको डिभिजन वन कार्यालय झापाको विवरणमा उल्लेख छ । हात्तीका कारण ज्यान गुमाउने गैरनेपालीले राहत रकम पाउने व्यवस्था छैन भने नेपाली नागरिकले राहत पाउने गरेका छन् ।

 

डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी सहायक वन अधिकृत अञ्जना पुरीका अनुसार झापामा हात्तीको आक्रमणबाट अघिल्लो आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन जना, २०७६/७७ मा दुई जना, आव २०७५/७६ मा एकजना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको थियो । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रमणमा परी ६२ जनाको मृत्यु भइसकेको छ, जसमा आठ जना गैरनेपाली रहेका छन् ।

 

त्यस्तै, सोही अवधिमा १६ वटा हात्ती समेत मरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्ती मरेको छ । मृत्यु हुने मानिसमा अधिकांश किसान मजदुर रहेकै कारण आफ्नै घर–खेतमा हात्तीे आक्रमणमा परेर ज्यान गुमाएको पाइएको छ ।

 

कार्यालयको विवरण अनुसार बाह्रदशी गाउँपालिका-२ का देवीबहादुर अधिकारी, बाह्रदशी-१ का जगतबहादुर भुजेल, शिवसताक्षी नगरपालिका-११ की कृष्णमाया भण्डारी, बुद्धशान्ति गाउँपालिका-४ का भीमबहादुर भट्टराई, बुद्धशान्ति-५ की सम्झना श्रेष्ठको हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । यसैगरी, भद्रपुर नगरपालिका-७ का गिरेन कर्मकार, दमक-३ का कमैया राई (गैरनेपाली)को पनि हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

 

झापामा गत आर्थिक वर्षमा ५१४ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुलाई एक करोड ११ लाख ३६ हजार सात सय तीन रूपैयाँ राहतस्वरूप वितरण गरिएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी पुरीले जानकारी दिइन् ।

 

सरकारले मृतकका लागि ५० लाख, घाइतेको उपचारका लागि नौ लाख १८ हजार २२५, चौपाया र अन्नबालीमा क्षतिवापत ५२ लाख १९ हजार चार सय पचहत्तर रूपैयाँ राहत रकम उपलब्ध गराएको जनाइएको छ ।