अर्थ बजार

काँकरभिट्टा नाकाबाट १ सयभन्दा बढीको सामान ल्याए अनिवार्य भन्सार

By admin

July 21, 2023

झापा । झापाको पूर्वी नाका काँकरभिट्टा भएर १ सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु भारतीय बजारबाट किनमेल गरेर नेपाल भित्र्याएमा भन्सार लाग्ने भएको छ ।

 

नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुनेगरी सो नियम लगाएको हो । मेची भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘एक सयभन्दा बढी मूल्यको कुनै पनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ उल्लेख गरिएको छ ।

 

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दावी छ ।

 

भारतीय बजारबाट बिनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीकोसमेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको छ । सिमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ ।

 

शुक्रबार मेचीनगर नगरपालिका र मेची उद्योग बाणिज्य संघको सहकार्यमा बसेको सर्वदलीय छलफलले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

 

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताए । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ । ‘यो नियम अहिले मेची भन्सार कार्यालयमा लागू भएको छैन’, भन्सार प्रमुख रेग्मीले भने, ‘अब यो नियम कडाईका साथ लागू गरिने छ ।’